Article by Dr. Rabindra Sharma
August 06, 2025
Article by Dr. Rabindra Sharma

हात, खुट्टा र मुखका रोग: लक्षण र समाधान

गत वर्षको तुलनामा यस वर्ष हात, खुट्टा र मुखका रोग अर्थात् ‘ह्याण्ड, फुट एण्ड माउथ डिजिज’ अलि बढी नै देखिए । यद्यपि यी समस्या नयाँ भने होइनन्, निकै वर्ष अघिदेखि नै देखिँदै आएका छन्।

यस वर्षको जाडोयाम सुरु हुँदा नै ‘ह्याण्ड, फुट एण्ड माउथ डिजिज’ भएर अस्पताल पुग्ने बालबालिकाको चाप बढी नै देखियो । विशेषतः विद्यालय जाने बालबालिकामा समस्या बढी देखियो । विद्यालयमा बालबालिका एकापसमा बढी नै नजिक र घुलमिल हुने भएकाले धेरैभन्दा धेरैमा सर्ने जोखिम हुन्छ।

यो रोग सामान्यतः सबै मौसममा हुन सक्छ तर जाडो मौसम सुरु हुने बेला भने अलि बढी नै देखिने गरेको छ । वास्तवमा ह्याण्ड, फुट एण्ड माउथ डिजिज सरुवा अर्थात् सङ्क्रामक (भाइरल) रोग हो । अतः यो रोग एक–अर्काबीचको प्रत्यक्ष सम्पर्कबाट सर्दछ । ‘कोक्स्याकी भाइरस’ का कारण यसको सङ्क्रमण हुन्छ।

दस वर्षभन्दा कम उमेरका बालबालिकामा यो रोग बढी देखिन्छ । बीस–बाईस वर्ष उमेरसम्मका युवायुवतीमा पनि यो समस्या देखिने गरेको छ ।

लक्षण यस्ता–यस्ता

ह्याण्ड, फुट एण्ड माउथ डिजिज भएमा मुख, हात/हत्केला र पैतालामा पानीफोका देखिन्छन् । यो रोग लाग्दा पानीफोका जस्ता घाउ देखा पर्छन् । मुखभित्र, पैताला तथा हातमा ठेउलाजस्ता फोका निस्कन्छन् । कतिपयमा भने कुइँना र घुँडामा समेत यस्ता फोका देखिन्छन् ।

[image url]

ह्याण्ड, फुट एण्ड माउथ डिजिज भएको अवस्थामा एक–दुई दिन हल्का ज्वरो आउन सक्छ । तर, सबैलाई ज्वरो आउँछ नै भन्ने पनि हुँदैन । घाँटी दुख्ने तथा खसखसाउने जस्तो लक्षण पनि देखिन सक्छ । बोल्न असहज हुने तथा खानपान गर्न गाह्रो हुनेजस्ता लक्षण पनि देखा पर्दछन् । फोकाहरू दुख्ने तथा चिलाउने जस्ता समस्या समेत हुन सक्दछन् ।

यो समस्या हुँदा मुखभित्र तथा जिब्रोमा घाउ आउँछ । यो रोग लागेका अधिकाङ्शको मुखभित्र र जिब्रोमा यस्तो समस्या देखिन्छ । मुखभित्र त देखिँदै आएको थियो नै, यसपालि भने मुखबाहिर र नाक वरिपरि समेत यस्ता फोका देखियो । कतिपयमा भने मुखभित्र तथा बाहिर दुवैतिर समस्या देखियो । यो रोग लाग्दा हात र खुट्टाका नङ पनि झर्न सक्दछन् ।

यस्तो छ उपचार

ह्याण्ड, फुट एण्ड माउथ डिजिज सङ्क्रमण हुँदा उपचार गर्ने विशेष एन्टिभाइरल/औषधि छैन । त्यसैले लक्षणको आधारमा उपचार विधि अपनाइन्छ । धेरै चिलाएमा चिलाई कम गर्ने औषधि दिइन्छ भने ज्वरो आए ज्वरो कम गर्ने औषधि दिइन्छ । यस रोगको उपचारका लागि सामान्यतः कडा औषधिको जरुरत पर्दैन ।

त्यसो त यो समस्या हुँदा लक्षण देखिएको केही दिनपछि आफैं निको भएर पनि जान्छ । सामान्यतः हप्ता–दस दिनपछि आफैं ठीक हुँदै जान्छ ।

मुखको घाउ निको पार्न र दुखाइ कम गर्नका लागि मलम लगाउन सकिन्छ । दैनिक साबुन–पानी वा नुन–पानीले सफा गर्न सकिन्छ । मलम तथा औषधिको प्रयोग भने चिकित्सकको सल्लाहमा मात्रै गर्नु उचित हुन्छ ।

सामान्यतः ह्याण्ड, फुट एण्ड माउथ डिजिजका कारण स्वास्थ्य नै जोखिममा परिहाल्ने र जटिलता निम्तने स्थिति खासै हुँदैन । तर, सङ्क्रमण जटिल बनेमा भने मेनेन्जाइटिस/इन्सेफ्लाइटिस हुन तथा नसासम्बन्धी समस्या निम्तन सक्दछ । यो समस्या हुँदा शरीरमा पानीको मात्रा कम (जलवियोजन) हुन सक्छ । यस्ता लक्षण देखिए बेलैमा चिकित्सकको परामर्श लिनुपर्छ ।

बच्ने यसरी

बालबालिकामा ह्याण्ड, फुट एण्ड माउथ डिजिज भएमा पर्याप्त आराम गराउनुपर्छ । यस्तो सङ्क्रमण भएका बेला विद्यालय नपठाउनु नै उचित हुन्छ ।

यो समस्या भएमा बालबालिकालाई सामान्यतया पाँच–सात दिन होम आइसोलेसनमा राख्नुपर्छ । यसो गर्दा अन्य बालबालिकालाई सर्नबाट बचाउन सकिन्छ । कसैको शरीरमा देखापरेका पानीफोका अन्य बालबालिकाले चलाएमा या सँगै खानपान गरेमा सर्ने जोखिम हुन्छ ।

यो रोग लागेका बालबालिकालाई एकै ठाउँमा राखिराख्नु हुँदैन । घाउ चलाउन तथा कोट्याउन दिनु हुँदैन । सङ्क्रमित खाद्य पदार्थबाट समेत यो रोग सर्ने भएकाले राम्रोसँग सफा गरेर खानुपर्छ ।

यो रोगको सङ्क्रमण भएका बेला खानपान गर्न असहजता निम्तने र पोषणको कमी हुन जाने भएकाले प्रशास्त मात्रामा झोलिला र नरम पदार्थ खुवाउनुपर्छ ।

Telehealth App
Download our app to know more
Telehealth Nepal presents you the most simple yet powerful health care service in Nepal.